Friday, August 12, 2011

५० हजार नाघ्यो सुन मूल्य


अत्यासलाग्दो गरी बढेको सुनको मूल्य अन्ततः बिहीबार तोलाको ५० हजार रुपैयाँ नाघेको छ । एक सातामा तोलामा झन्डै ४ हजार रुपैयाँ बढेर बिहीबार स्थानीय बजारमा तोलामा ५० हजार ५ सय रुपैयाँमा कारोबार भयो ।

तीज, दसैं, तिहारलगायत सुन व्यवसायको सिजनमा यसरी पत्याउनै गाह्रो हुने गरी बढेको मूल्यबाट उपभोक्ता मारमा परेका छन् । 'पत्याउनै गाह्रो हुने गरी उकालो लागेको भाउ बिहीबार तोलामा ५० हजार ५ सय -दस ग्राममा ४३ हजार २ सय ९५) रुपैयाँ पुग्यो,' सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले भने । बुधबार स्थानीय बजारमा सुनको मूल्य तोलामा ४९ हजार १ सय -दस ग्राममा ४२ हजार ९५) रुपैयाँ थियो ।

'बिहीबार एकैदिन तोलामा १ हजार ४ सय रुपैयाँ बढेको छ,' शाक्यले भने, 'गत बिहीबारको तुलनामा ४ हजारले बढेको छ ।' गत बिहीबार प्रतितोला ४५ हजार ९ सय ५० रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा लगातार बढेको भाउका कारण स्थानीय बजारमा पनि सुनको मूल्य आकासिएको हो । 'अन्तर्राष्ट्रिय बजारमा बिहीबार प्रतिआउन्स सुनको मूल्य १ हजार ७ सय ८९ अमेरिकी डलर पुगेको छ,' उनले भने, 'यसरी उच्च बिन्दुमा पुगेको अन्तर्राष्ट्रिय मूल्यको प्रभाव हो ।' बुधबार अन्तर्राष्ट्रिय बजार बहुमूल्य पहेंलो धातुको मूल्य १ हजार ७ सय ५३ डलर कायम भएको थियो ।

संघका अनुसार स्थानीय बजारमा एक वर्षको अवधिमा सुनको मूल्य झन्डै ३० प्रतिशतले बढेको छ । २०६७ को साउनमा प्रतितोला सुनको मूल्य ३५ हजार रुपैयाँ थियो । २०६६ को साउनमा प्रतितोला मूल्य २७ हजार रहेको थियो । २०६५ मा २५ हजार रुपैयाँ थियो ।

सुनचाँदीका होलसेल व्यवसायी निर्मल ज्योति मूल्य नेपालमा अन्तर्राष्ट्रिय प्रभावसँगै सञ्चिति पनि बढेको बताउँछन् । सरकारले कोटा निर्धारण गरेको भन्दा धेरै सुनको कारोबार भएको उनको भनाइ छ । 'अझै भाउ बढ्ने हल्लाले सुन किनेर राख्ने बढेका छन्,' उनले भने । अर्कोतिर सुन व्यवसायीले पनि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्ने हल्लासँगै मौज्दात बढाएकाले बैंक तथा होलसेलरमा पहिलेको भन्दा बढी माग भएको उनले बताए ।

मूल्य बढेपछि स्थानीय बजारमा ढिक्का सुनको बिक्री बढेसँगै राष्ट्र बैंकले यसमा चासो देखाएको छ । ढिक्का सुन बिक्री गर्न नपाउने कानुनी व्यवस्था छ । 'सुनको ढिक्का बिक्री भएको भन्दै राष्ट्र बैंकले यसबारे चासो देखाएको छ,' संघका अध्यक्ष शाक्यले भने, 'हामीले गहनाका लागि मात्र सुन बिक्री गरिरहेका छौं । यदि ढिक्का बिक्री भएको भए उसले अनुगमन गर्नुपर्छ ।



किन बढ्यो ?

एक सातादेखि स्थानीय बजारमा बढेको सुनको मूल्यले सर्वसाधारणलाई अचम्मित मात्रै होइन चिन्तित पनि बनाएको छ । यो ऐतिहासिक वृद्धिको पछाडि धनी देशका अर्थतन्त्रको कमजोर व्यवस्थापन मुख्य कारण हो ।

झन्डै साताअघि दक्षिण कोरियाको केन्द्रीय बैंकले मौज्दातका लागि अन्तर्राष्ट्रिय बजारबाट २५ टन सुन किनेपछि मूल्य वृद्धि सुरु भएको हो । त्यसपछि अमेरिकी रेटिङ एजेन्सीले अमेरिकाको ऋण तिर्ने साख कम भएको प्रतिवेदन सार्वजनिक गर्‍यो । उसले अमेरिकाको साख स्तरलाई एक तह कम गरिदियो । यसले विश्व बजारमा हलचल पैदा गर्‍यो, अमेरिकामा आर्थिक समस्या आउँदै छ भन्ने । उता युरोपमा केही महिनादेखि देखिएको बैंकिङ समस्या पनि बाँकी नै थियो ।

अमेरिका र युरोपमा देखिएका यी समस्याले विश्वभरको सेयर बजारमा असर पार्‍यो । अमेरिका र युरोपका साथै एसियाको मुख्य सेयर बजारमा उच्च गतिको गिरावट आयो । अमेरिकी डलर अन्य विदेशी मुद्राको दाँजोमा कमजोर भयो । यो गिरावटले सेयर र डलरमा लगानी गर्ने लगानीकर्ताको विश्वास

संकट आयो ।

यस्तो वातावरण सुरक्षित लगानी क्षेत्र मानिने सुनमा सेयर र डलरमा लगानी गरिरहेको लगानीकर्ता आए । यसले बजारमा एक्कासि सुनको माग बढेकाले मूल्यमा उच्च वृद्धि भएको हो । लगानीकर्ताले सुनलाई सुरक्षित लगानी क्षेत्रका रूपमा लिने गर्छन् । 

यी कारणले २३ गते अन्तर्राष्ट्रिय बजारमा आउन्समा

१ हजार ७ सय १३ अमेरिकी

डलर भएको थियो । बिहीबार आउन्समा १ हजार ७ सय ९५ डलर पुग्यो ।

No comments:

Post a Comment